दिनेश डिसीले सलमान खानको ‘दबंग द टुर’ कार्यक्रम चलाउने

काठमाडौं, १० फागुन । फागुन २६ गते टुँडिखेलमा बलिउड सुपरस्टार सलमान खानको ‘दबंग द टुर’ कार्यक्रम हुँदैछ । त्यसका लागि उनी मार्च ९ तारिखमा नेपाल आउँदैछन् । सन् १९९४ पछि पहिलो पटक नेपाल आउन लागेका सलमानको कार्यक्रमको नेपाली होस्ट चर्चित कलाकार निर्देशक दिनेश डिसीले गर्ने भएका छन् ।

अहिले ‘दबंग द टुर’ सांगीतिक कार्यक्रमको सञ्चालन मनिष पौलले गर्दैछन् । उनले काठमाडौंको टँुडिखेलमा आयोजना हुने कार्यक्रमको पनि सञ्चालन गर्नेछन् । नेपाल आयोजक ओडिसी इन्टरटेनमेन्टले दिनेश डिसीलाई कार्यक्रम चलाउन प्रस्ताव गरेको बुझिएको छ । तर, डिसीले यसबारे बोल्न चाहनेन् ।

चर्चित अंग्रेजी गायक ब्रायन एडम्सको नेपालमा भएको सांगीतिक कार्यक्रमको सञ्चालन पनि दिनेश डिसीले नै गरेका थिए । सलमानको ‘दबंग द टुर’ मा नेपाली कलाकारले पनि स्टेज सेयर गर्दैछन् । करिब तीन घन्टा चल्ने कार्यक्रममा नेपाली कलाकारको पफर्मेन्समा दिनेश डिसीले होस्ट गर्ने बुझिएको छ ।

‘दबंग द टुर’ बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सहभागी हुनेछन् । नेपाली गायक राजेशपायल राई, विजय लामा तथा सुष्मा कार्की र माला लिम्बूले स्टेज कार्यक्रममा नृत्य प्रस्तुत गर्ने छन् । कार्यक्रममा नयाँ पुस्ताका नेपाली नायक–नायिकालाई पनि नृत्य गराउने तयारी भइरहेको बुझिएको छ ।