‘बरु नबोलेरै मरिन्छ, तर देउवाले नबोलाएसम्म बालुवाटार नि जान्नँ’

काठमाडौँ । भनिन्छ, राजनीतिमा न स्थायी शत्रु हुन्छ, न मित्र नै । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हकमा यो भनाई लागू भएको देखिँदैन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला प्रतिपक्षी दलको नेताको हैसियतमा रहेका ओलीले प्रचण्डको मुख पनि हेर्न मन नभएको प्रतिक्रिया दिएका थिए । उनी प्रचण्ड प्रधानमन्त्री भएपछिको लामो समय बालुवाटार पनि पुगेनन् ।

ठीक त्यस्तै घटना दोहोरिएको छ, अहिले । कतिपयलाई थाहा छैन होला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच अहिले बोलचाल छैन । यो कुरा पूर्वप्रधानमन्त्री समेत ओलीले एक टेलिभिजनमा अन्तर्वार्ताको क्रममा खुलाएका हुन् ।

गत शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जाँदा ओलीलाई पनि लिएर जान खोजेका थिए । तर ओलीले मानेनन् ।

नमान्ने बित्तिकै प्रचण्डले उनलाई कुनै दबाब दिइएन । तर ओलीले देउवाले राजनीतिक संस्कार नसिकेको बताउँदै भनेका थिए, ‘बरु मरिन्छ, देउवाले नबोलाएसम्म म बालुवाटार जान्नँ, देउवासँग म आफैँ गएर बोल्नु नि छैन ।’