कामठाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।
आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताए । खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मानेका छन् । यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको प्रतिक्रिया अर्थमन्त्रीले दिए ।
मन्त्री खतिवडाले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत बताएका छन् । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।
अर्थ तथा सञ्चार मन्त्रालयको जिम्मेवारी अहिलेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिने भएका छन् । अर्थमन्त्रीको राजनीनामा स्वीकृत गर्दै राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रमा यस्तो उल्लेख गरिएको हो । खतिवडाले शुक्रबार दिएको राजीनामा स्वीकृत भएको छ ।
खतिवडाको बहिर्गमनपछि अर्थमन्त्री को होला ? भन्ने तीब्र चासो रहेको थियो । तथापि, प्रधानमन्त्रीले तत्कालका लागि मात्र यो मन्त्रायल जिम्मेवारी लिएको हो वा दीर्घकालका लागि भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।
