काठमाडौं । निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । आयोजनाको काम तोकिएको समयमा पूरा नहुँदा सुपर सिक्स अन्तर्गत रहेका आयोजनाबटा उतपादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडन नपाउँदा नेपाल विद्युत् प्राधिकरणले ४५ प्रतिशत पेनाल्टी तिर्नुपर्ने भएको छ ।
सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो । सोलुखुम्बुमा उत्पादन हुने विद्युत बाहिर लैजान १३२ केभी क्षमतामा प्रसारणलाइन निर्माण गरिएको भएपनि विभिन्न कारणले समयमानै सम्पन्न हुन नसकेको आयोजना प्रमुख जनार्दन गौतमको भनाइ छ । सोलु दूधकुण्ड नगरपालिका– ११ तिङ्लामा सवस्टेशन निर्माण भइसकेपनि करिडोरको काम अझै सक्ने छाँटकाट छैन ।
सिरहाको मिर्चैयादेखि तिङ्लासम्म ३०२ टावर बनाउनुपर्ने भएपनि अहिलेसम्म २८१ वटाको फाउण्डेशनको काम सकिएको छ । अब २१ टावर निर्माण गर्नुपर्ने छ तर पाँच वटाको सुस्तगतिमा काम भइरहेको छ ।
यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ४५ किलोमिटर मात्रै तार तानिएको छ । लामो समय सामुदायिक वनको विवादले गर्दा वन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोला २३।५ मेगावाटमा
उत्पादन भएको विद्युत् खेर गइरहेको छ । प्राधिकरणका कारण प्रसारण लाइन निर्माण हुन नसकेको खण्डमा ४५ प्रतिशत हर्जना तिर्नुपर्ने शर्तका कारण विद्युत् खेर गएपछि प्राधिकरणलाई थप समस्या भएको हो । यस्तै सोलुखोलामानै निर्माणाधीनावस्थामा रहेको तल्लो सोलुखोला ८२ मेगावाटको काम भइरहेको छ ।