काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बाल दिवशको अवसरमा बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । दिवशका अवसरमा शुभकामना सन्देश दिदैँ बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताएका छन् ।
यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको प्रधानमन्त्रीले दावी गरेका हुन् । बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रति सरकारको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको बताए ।
‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बालबालिकाको भविष्य भएको चर्चा गरेका छन् ।
कोरोना भाईरसका कारण बालबालिकाको जीवन र पठनपाठनमा गम्भीर असर पारेको उनको भनाई छ । सङ्कटको यस घडीमा बाल अधिकार र सुरक्षामा सक्रिय रहन सम्पूर्ण संयन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाजलाई आह्वान गरेका छन् ।
राष्ट्रिय बाल दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको शुभकामना सन्देश
राष्ट्रिय बाल दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु । बाल अधिकार संरक्षण एवं प्रवद्र्धनमा क्रियाशील सम्पूर्ण दिदीबहिनी, दाजुभाइ, नागरिक समाज, राजनीतिकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु लगायत सबैलाई यस अवसरमा हार्दिक शुभकामना दिन चाहन्छु ।यस वर्ष हामीले ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ देशव्यापी रुपमा बाल दिवस मनाउँदै छौं । सरकारले बालबालिकाको हक, हित र उनीहरुका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ । नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९, बालबालिका सम्बन्धी अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौतालाई अनुमोदन गरी बालबालिकाको संरक्षण तथा बाल अधिकारको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता जनाएको छ । सरकार यस प्रतिवद्धताका कारणले मात्र होइन, बालबालिका देशको सवल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित छ ।नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रुपमा स्थापित गरेको छ । जस अनुरुप सरकारले बाल अधिकार सम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । चालु पन्ध्रौं आवधिक योजनाले बाल अधिकार सुनिश्चित बालमैत्री समाजको परिकल्पना गरी कार्यान्वयनमा अग्रसरता लिएको छ । अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पूरा हुन नसकी सडकमा बेवारिसे जीवन विताइरहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने काम हामीले थालनी गरेका छौं । ‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियान अन्तर्गत यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने नीति सरकारले लिएको छ । बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने यस सरकारको प्रतिबद्धता छ । बालबालिकाको शारीरिक, मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोग सहितको स्तरीय शिक्षाको अधिकार, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने यस सरकारको नीति छ । स्वस्थ्य रहन पाउने तथा उपचारको अधिकार, शारीरिक मानसिक दुर्बलता भएका बालबालिका समेतको भेदभाव बिरुद्धको समानता र समन्यायको अधिकार रक्षा, शारीरिक र मानसिक विकासका लागि खेलकूद र मनोरञ्जनको अधिकारजस्ता बालअधिकार र बाल अधिकारसँग सम्बन्धित सम्पूर्ण अधिकारहरुको प्रत्याभूति अहिलेको सरकारका प्रतिवद्धता हुन् । बालबालिकाहरुका लागि सुरम्य पारिवारिका–सामाजिक वातावरण निर्माण गर्न संघीय सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । त्यसका लागि सबै तहका सरकार, राष्ट्र सेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार, निजी क्षेत्र तथा सञ्चारकर्मी सबैको रचनात्मक सहभागिता तथा सहयोगको अपेक्षा गर्दछु । बाल दिवसको यस अवसरमा म आम अभिभावकहरुमा अपिल गर्दछु– बालबालिका कागजका त्यस्ता खाली पाना हुन्, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्दछ । बालबालिका सेतो कपडा हुन्, तिनमा जस्तो रंग लगायो जीवनको अन्त्यकालसम्म नमेटिने त्यस्तै छाप बस्न पुग्दछ । तसर्थ सिर्जनाका आधारभूमि हाम्रा यी बालबालिकामा सकारात्मक, सवल र जीवनमूखी रंग भर्न राज्य मात्र होइन, अभिभावक, परिवार र समाजले आफ्नो नैतिक आचरण मार्फत् सकारात्मक ज्ञान सम्प्रषेण गर्नु पर्दछ । यस अवसरमा समस्त अभिभावकहरुलाई यसतर्फ दायित्वशील हुन म आह्वान गर्दछु । राष्ट्रिय बाल दिवसको यस अवसरमा प्यारा भइबहिनीहरुमा पनि म विशेष आह्वान गर्दछु– तपाईंहरु देशको सुदूर भविष्य हुनुहुन्छ । यसअघिको पुस्ताले लामो संघर्ष गरेर देशमा रहेको निरंकुश शासन हटाई जनतालाई नै सार्वभौमसत्ता सम्पन्न बनायो । तपाईंहरुको पुस्तालाई कस्तो देश चाहिन्छ, त्यस अनुरुपका परिकल्पना र कामको थालनी अहिलेको सरकारले गरिरहेको छ । देशभित्र रहेका विकृति, पछौंटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र हाम्रा पूर्खाले कल्पना गरे अनुरुप ‘सर्वे भवन्तु सुखीनः’ (सबै सुखी होउन्)को गन्तब्यमा पु¥याउन हामी अग्रसर छौं । हामीले सामाजिक न्याय र समनता सहितको विकासलाई राष्ट्रको आकाङ्क्षा बनाएका छौं । समृद्ध नेपाल सुखी नेपालीको यस आकाङ्क्षा मानव जातिको आकाङ्क्षा हो, हाम्रो देशको आकाङ्क्षा हो । र, यो तपाईंहरुको भविष्य हो । यसको सफलता तपाईंहरुको जीवनको सफलतासँग गाँसिएको छ । तपाईंहरुले आजको समयलाई सही सदुपयोग गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्नु पर्छ । नकारात्मक र हानीकरक विचार, प्रबृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनु पर्छ । आउँदो पिंढीको सुन्दर भविष्य निर्माण गर्ने यस अभियानमा तपाईंहरुको सचेत सहभागिता रहने छ भन्ने मेरो विश्वास छ । संसार अहिले कोभिड–१९ को महामारीबाट आक्रान्त छ । हाम्रा बालबालिकाको जीवन र पठनपाठनमा यसले गम्भीर असर पारेको छ । भाइबहिनीहरुले यस वर्षको एसईई परीक्षामा प्रत्यक्ष संलग्नता जनाउन पाउनु भएन । यसबाट दुःखी नहुन म सबैमा आह्वान गर्दछु, यस महामारीको सामना गरेर तपाईंहरुले जीवनको परीक्षा सफलतापूर्वक उत्तिर्ण गर्नु भएको छ । कोभिड–१९को महामारी बिरुद्ध सरकारले अघि बढाएका प्रयासले यस विपद्लाई परास्त गर्दै हामी हाम्रा बालबालिकाहरुको भविष्य सुरक्षित गर्ने छौं । संकटको यस घडीमा विद्यमान प्रणालीमा परेको नकरात्मक प्रभावलाई नयाँ सम्भावनाको द्वारसम्म पु¥याउनेगरि बालबालिकाका अधिकार र सुरक्षामा सक्रिय रहन सम्पूर्ण संयन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था, नागरिक समाज सबैमा आह्वान गर्दछु । अन्त्यमा, बालबालिकाको अधिकार र सुरक्षामा दृढ संकल्प र ऐक्यवद्धताका लागि सबैमा आग्रह गर्दै राष्ट्रिय बाल दिवस २०७७ को सबैमा शुभकामना ब्यक्त गर्दछु ।
२९ भदौ २०७७