काठमाडौं । कोरोना भाईरसले गर्दा संकटमा परेका उद्योगहरुलाई १५ दिनभित्र आवेदन दिन सरकारले आह्वान गरेको छ । सरकारले स्थापना गरेको उच्च स्तरीय समितिले कोभिड १९ र अन्य कारणले संकटमा परेका उद्योग पहिल्याउन समितिमा निवेदन दिन आग्रह गरेको हो ।
१५ दिनभित्र आवेदन दिन सूचना निकालिएको र निवेदनका आधारमा रुग्ण उद्योगको पहिचान गरिने समितिका संयोजक दीपक सुवेदीले बताए । डेढ महिना अघि गठन भएको समितिले निषेधाज्ञाका कारणले धेरै काम गर्न पाएको थिएन् । समितिले यसअघि रुग्ण उद्योगका लागि सिफारिस गरिएका कम्पनीहरुका बारेमा अध्ययन गरेको थियो । समितिको कार्यालय त्रिपुरेश्वरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा रहेको छ ।
यसरी निवेदन दिदा उद्योग ५ वर्षदेखी निरन्तर सञ्चालनमा रहेको हुनु पर्ने छ । यसअघि मन्त्रालयले सरकारी रुग्ण उद्योग सञ्चालन, निजी क्षेत्रका रुग्ण उद्योग पहचान लगायत विषयमा उच्च स्तरिय समिति गठन गरेको थियो ।
समितिलाई औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार सार्वजनिक तथा निजी क्षेत्रका उद्योगको भौतिक, वित्तीय, प्रविधिगत, बजार प्रणाली, व्यवस्थापकीय लगायतका पक्षको विश्लेषण गरी रुग्ण उद्योगहरुको पहिचान गर्ने अधिकार दिइएको छ ।
समितिका सदस्यमा जीवराज कोइराला, गोपालप्रसाद भट्ट र कृष्णप्रसाद आचार्य छन् । यस्तै मन्त्रालयका औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख र औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखा प्रमुख छन् ।