काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्। हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्।
आज १४४७ जना निको भएका छन्। हालसम्म ४५ हजार २६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।
नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ ।
आठ वटा जिल्लाका ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङमा ६५, रौतहटमा ५१, सर्लाहीमा ५६, ललितपुरमा ७६ र ६८ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
गत २४ घण्टामा काठमाडौमा ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरमा ३७ वर्षीया महिला, रुपन्देहीमा ६९ वर्षीय पुरुष र बाँकेमा ४५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।
काठमाडौं उपत्यकामा एकै दिन ७ सय बढी कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा भेटिएका १ हजार २ सय ४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ७ सय ११ संक्रमित भेटिएका हुन् ।
काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ७ सय ११ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा मात्र ५ सय ७० संक्रमित भेटिएका छन् । भक्तपुरमा ३ र ललितपुरमा ५८ जनामा कोरोना पुष्टि भएको छ ।
उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १५ हजार ८ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १३ हजार १४, ललितपुरमा १ हजार ४ सय ८४ र भक्तपुरमा १ हजार ३ सय ५१ संक्रमित पुगेका छन् ।
यसअघि शुक्रबार काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना देखिएको थियो ।