काठमाडौं । लामो समयपछि सार्वजनिक यातायात सञ्चालनमा आएपनि आवश्यक सुरक्षा अपनाएका लछैनन् । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेको बेलमा सार्वजनिक यातायात सञ्चालनमा आएपनि स्यानिटाइजर नराखिँदा र दूरी कायम नगरिँदा जोखिम झन बढेको छ ।
यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । अनुगमन समेत नहुँदा यातायात व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने भान परेको यात्रु प्रेमबहादुर थापाले बताए ।
विभागले चार किमीको भाडा रु १४ तोकेको छ । क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्दा ५० प्रतिशत बढाएर न्यूनतम् भाडा रु २१ हुन्छ । तर हाल त्यस्ता यातायातमा परिचालकले न्यूनतम भाडा रु २५ उठाइरहेका छन् । यातायात व्यवसायी न्यूनतम भाडा रु २५ बनाउने ध्याउन्नमा छन् । कोरोना महामारीका बेला भौतिक दूरी र सुरक्षाका उपाय भने अपनाएका छैनन् ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले तोकेबमोजिम भए÷नभएको अनुगमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको बताए ।
महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव गत भदौसम्म मापदण्ड उल्लङ्घन गर्ने सवारीलाई दिनभर कारबाहीस्वरुप राख्ने गरेकामा यही असोज १ गतेपछि भने रु ५०० देखि १० हजारसम्म जरिवाना गर्न थालिएको बताए । यसरी दैनिक सार्वजनिक र निजी गरी ७०० सम्म सवारी कारबाहीमा पर्ने गरेका छन् ।