काठमाडौं । राष्ट्रिय सभामा मनोनित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलका विरुद्ध सर्वाेच्चमा बुधबार बहस हुने भएको छ ।
उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन बदर गर्न माग गर्दै सर्वाच्चमा निवेदन परेको छ । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई त्यही अवधिमा राष्ट्रिय सभामा मनोनीत गर्नु गैरसंवैधानिक हुने भन्दै सर्बाेच्चमा दुई फरक निवेदन परेको छ ।
गौतमविरुद्ध परेका दुई फरक निवेदनमाथि बुधबार सुनुवाइ हुने छ । दुवै निवेदनको पेसी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । अधिवक्ता बद्रीराज भट्टले दर्ता गरेको निवेदन पहिलो क्रममा छ भने त्यसलगत्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको अर्काे निवेदन छ ।
दाबी गरिएको निवेदनमा मनोनयनका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र मनोनीत गर्ने राष्ट्रपति कार्यालयको निर्णय बदर हुनुपर्ने माग छ ।
सरकारी निकायको निर्णयको हकमा महान्यायाधिवक्ता कार्यालयले कानुनी प्रतिरक्षा गर्नेछ । त्रिपाठीको निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै नेकपालाई समेत विपक्षी बनाइएकाले मंगलबार नेकपाको सचिवालय बैठकले उक्त मुद्दामा पार्टीले नै प्रतिरक्षा गर्ने निर्णय गरेको थियो ।