काठमाडौं । बिहीबार सातको अन्तिम दिने सेयर बजारमा केही सुधार आएको छ । बिहीबार नेप्से ५.७४ अंकले बढेर १५६१.२७ अंकमा पुगेको छ ।
बिहीबार १९३ कम्पनीको २ अर्ब २३ करोड ३४ लाखको ८९ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । बिहीबार १० भन्दा बढी जलविद्युत कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
अपी पावर, माउन्टेन हाइड्रो, हिमाल दोलखा, सिनर्जी पावर, दिव्यश्वरी हाइड्रोपावर, बरुण हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
बिहीबार उपसमूहको परिसूचक ४.४९ प्रतिशत बढेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.९५ प्रतिशत बढेको छ । कारोबारमा आएका १२ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक यस दिन घटेको हो भने बाँकी ६ उपसमूहको परिसूचक बढेको हो ।
कारोबार रकमका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १४ करोड ७८ लाख रुपैयाँ बराबरको ६ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।