काठमाडौं २६ फाल्गुन २०७७
महाशिवरात्रिको तयारी स्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ । महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो । सफाइबाट चार गाडी फोहर व्यवस्थापन गरिएको समेत बताएका छन्।

साधु सन्त एवं भक्तजनका लागि भण्डारा लगाएको स्थानमा बढी फोहर देखिएको पनि बताएका छन्। कोषले भण्डारा लगाउने जिम्मा पाएका सङ्घ संस्थाका पदाधिकारीलाई फोहर व्यवस्थापन गर्न निर्देशन दिएको छ । भण्डारा लगाउँदा आएको फोहर पशुपति क्षेत्रमा फालेमा कालोसूचीमा राखी अर्को पटकदेखि पशुपति क्षेत्रमा सेवा गर्ने अवसरबाट वञ्चित गरिने निर्देशन दिइएको छ ।
कोषले आज बेलुकी पशुपति क्षेत्रमा विशेष अनुगमन गर्ने जनाइएको छ । सफाइमा नेपाली सेनाको काली दल गण, सशस्त्र प्रहरी बल, सामुदायिक प्रहरी, पर्यटक प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, तिलगङ्गा महिला समूह, कोषका कर्मचारीलगायत विभिन्न सङ्घ संस्थाको सक्रियतामा सफाइ जनाएको छ।

सो अवसरमा पशुपति क्षेत्रमा फोहर नगरौँ, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थललाई स्वच्छ राखौँ भनी जनचेतनामूलक अभियान पनि चलाइएको थियो । यसअघि गत शनिबार वाग्मती सफाइ महाअभियानले पनि महाशिवरात्रिका अवसरमा सूर्यघाटबाट आर्यघाटसम्मको नदी किनारमा सफाइ गरेको थियो । प्रतिक्रिया दिनुहोस्
